Khabarpato logo

         

बहस

मदन-आश्रित स्मृति दिवस विशेष : कम्युनिस्ट आन्दोलन र एकता बन्यो ठट्यौली

निलमकुमार ओझा

निलमकुमार ओझा

मदन-आश्रित स्मृति दिवस विशेष : कम्युनिस्ट आन्दोलन र एकता बन्यो ठट्यौली

आज मदन-आश्रित स्मृति दिवस । तत्कालीन नेकपा (एमाले) पार्टीका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जीप दुर्घटनामा संदेहास्पद ढंगले मृत्यु भएको थियो । 

हरेक उतारचढावका बाबजुद उनै नेताद्वयको स्मृतिमा हरेक ३ जेठमा यो दिवस मनाउने गरिएको २८ वर्ष पूरा भएको छ । तर, संदेहास्पद भनिएको उक्त दुर्घटनाको कारण वा रहस्य आजसम्म पनि बाहिर आउन सकेको छैन । देशका होनहार ती नेताहरूको अवसानको कारण समयको गर्भमा लुप्त हुनुले मुलुकको सुरक्षा एवं न्यायतन्त्रको कलुषित रूप उदाङ्गिएको सबैले देखिसकेका छन् ।

आजैका दिन प्रधानमन्त्री एवं स्वर्गीय मदनकुमार भण्डारीसमेतले सिँचेको नेकपा (एमाले)का वर्तमान अध्यक्ष केपी शर्मा ओलीेले अघिल्ला वर्षहरूमा जस्तै गरी आफूहरू कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताएका छन् । उनले 'जनताको बहुदलीय जनवाद'को रक्षा गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोटसमेत व्यक्त गरेका छन् । अध्यक्ष ओली र अरू कसैले पनि कम्युनिस्ट आन्दोलन एवं कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्छु भन्यो भने जनताले त्यसलाई एउटा ठट्यौलीका रूपमा बुझ्नेछन् ।

त्यसैगरी सोही पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआएको उल्लेख गर्दै घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको जनाएका छन् । उनले अगाडि भनेका छन, 'त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।' स्मरणीय छ, नेता नेपाल स्वयं सोही पार्टीको तत्कालीन सर्वोच्च महासचिव पदमा रहेर झण्डै १५ वर्ष राज गरिसकेका र देशको प्रधानमन्त्रीसमेत बनिसकेका नेता हुन् ।

त्यस्तै, वर्तमान महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं स्वर्गीय भण्डारीकी धर्मपत्नी हुन् । राष्ट्रपति भण्डारी पनि बेलाबखत बामपन्थीहरूको एकताको कुरा गर्छिन् ।

यसरी स्वर्गीय भण्डारीद्वारा विकसित विचारका आडमा नेकपा (एमाले) र यसका नेताहरूले राष्ट्रिय राजनीतिको केन्द्रमा रहेर पटकपटक केन्द्रीय सत्तासमेत संचालन गरिसकेको सत्य छिपेको छैन । तथापि, सोही व्यक्तिको संदेहास्पद एवं त्यत्रो विवादास्पद मृत्युको रहस्य खोजखबर गर्ने रुचि यति लामो समयसम्म कसैले नदेखाउनुका पछाडि लुकेको रहस्यात्मक कारण जनताले बुझेका छैनन् ।

साम्यवादी (मार्क्सवादी-लेनिनवादी) सिद्दान्तको परिमार्जित रूप भनिएको उक्त 'जनताको बहुदलीय जनवाद'का प्रवर्तक उनै भण्डारी थिए । भण्डारीले समाजवादको भूगोल, समाज र समय सापेक्ष आयामको विकास गरी मुलुकको कायापलट गर्ने सपना देखेका थिए भन्ने तथ्य उनले झण्डै ३ दशकअघि कोरेको बहुदलीय जनवादको खाकाबाट स्पष्ट हुन्छ । नेता भण्डारीले त्यसैखेर नेपालमा साम्यवादी क्रान्ति असंभव भएको भेउ पाइसकेका थिए । साम्यवादी क्रान्ति, जुन भ्रमपूर्ण सोचमा मोहन वैद्य जस्ता दिग्गज नेता, बाबुराम भट्टराई र पुष्पकमल दाहाल 'प्रचण्ड' जस्ता त्यसबेलाका धुरन्धर विद्वान् एवं क्रान्तिकारीहरू समेत अलमलिएर त्यसपछिको एक दशकभन्दा अधिक समय क्रान्तिका नाउँमा हिंसाको ताण्डव  मच्चाए । अपार जन, धन र मुलुकको विकासका संभावनाको दोहोलो काढे । 

तर, त्यही साम्यवादी क्रान्तिको नेपालमा कुनै आैचित्य नभएको त्यसैबेला बुझेका नेता भण्डारीले बहुदलीय संसदीय प्रतिस्पर्धात्मक व्यवस्थामा पार्टीलाई डोहोर्‍याएका थिए । भण्डारीले उसबेला बुझेको कुरा बुझ्न तीलगायत अन्य क्रान्तिकारीहरूलाई थप १२-१४ वर्ष लाग्यो र कतिपयले अझै बुझ्न सकेका छैनन् । त्यसैले नेता भण्डारीको दूरदर्शिताप्रति कतै कुनै संदेह रहँदैन ।

यता, वर्तमान प्रधानमन्त्री अोली, जो भण्डारीकालदेखि नै पार्टीको हर्ताकर्ता रहँदै आएका छन्, जसले अपार बहुमत प्राप्त आफ्नै दलको सरकार पूर्ण कार्यकाल संचालन गर्न सकेनन्, जसले आफ्नो पार्टीको आन्तरिक विवाद एवं गुटबन्दीलाई अन्तर्राष्ट्रियस्तरमा हाँसोको विषय बनाए, उनैले कम्युनिस्ट पार्टीहरूबीच एकता गराएर कम्युनिस्ट आन्दोलनको उद्देश्य प्राप्ति गर्छु भन्नुलाई धेरैले झूटको खेतीका रूपमा ग्रहण गरेका छन् ।

हुन पनि हो, भण्डारीको देहावसानपश्चातका २८ वर्ष हुन नसकेको, सर्वोच्च सत्ताका सबै अंगमा आफ्नो वर्चस्व हुँदा गर्न नसकेको, पार्टीभित्रका सामान्य विवादले अपार जनमतलाई लत्याएको अवस्थामा कम्युनिस्टहरूको एकताको कुरा गर्नु कुनै जालझेलभन्दा कम होइन । 

हुनत अस्ति ३१ वैसाखमा प्रधानमन्त्री पदको शपथ लिँदै गर्दा सम्माननीय ओलीले सत्यवादिताको परिचय त दिइसके । उनले शपथ लिँदै गर्दा राष्ट्रपतिले पढेको 'प्रतिज्ञा गर्छु' शब्द उच्चारण नै नगरेका मात्र होइन, 'त्यो पर्दैन' नै भनिदिए । यसबाट स्पष्ट हुन्छ कि सत्कर्म गर्छु, पदको मान-मर्यादा कायम राख्छु भनेर प्रधानमन्त्रीले शपथ लिन नसक्ने दिन आएछन् यहाँ । यस्तो परिस्थितिमा शहीदलाई, क्रान्तिकारी एवं महान् अग्रजहरूलाई सम्झनु पनि मात्र राजनीतिक कर्मकाण्ड बनेको छ ।

त्यसैगरी बरिष्ठ नेता नेपालले पनि आज भण्डारीको निधन भएको २८ वर्ष बित्दा दुर्घटनाको अनुसन्धान गरिनुपर्ने भनेर विज्ञप्ति निकाले जबकि उनी आफैँ दशकाैँदेखि राज्यसत्ताको महत्त्वपूर्ण स्थानमा आसिन छँदै छन् । प्रधानमन्त्रीसमेत बनिसकेका नेता नेपालले यसअघि किन त्यस दुर्घटनाको अनुसन्धान गराउने पहल गर्न सकेनन् होला ? किन त्यत्रो ठूलो घटना सेलाएर गएको टुलुटुलु हेरेर बसे होला ? यस्ता प्रश्नको उत्तर उनै जानून् ।

त्यति मात्र होइन, स्वर्गीय भण्डारीकी अर्धाङ्गिनी राष्ट्रपति भण्डारीलाई आफ्ना पतिको रहस्यमय मृत्युको अनुसन्धान गराउन कसले रोक्यो ? कि राष्ट्रपति प्रधानमन्त्रीभन्दा पनि ठूलो, डरलाग्दो अरू नै केही वा कोही छ यहाँ, जसले गर्दा नेपालको राष्ट्रपति स्वयंले आफ्ना पतिको रहस्यमय दुर्घटनाबाट भएको मृत्युबाट न्याय पाउन सकिनन् ? यदि देशको राष्ट्रपतिले नै न्याय नपाउने हो भने यो मुलुकका अामसर्वसाधारण जनताको हविगत कस्तो होला ? यी कहालीलाग्दा प्रश्नहरूको उत्तर पनि दैवै जानून् ।

भयो र भइरहेछ त्यस्तै यहाँ । यहाँ अनर्गल कुरा गर्ने, मच्चिएर २-४ भाषण गरेका भरमा जुनीभर नेतृत्व कब्जा गरेर बस्ने र खुराफातै सोच्ने अनि खुराफातै गर्ने कामलाई राजनीति गरेको भन्ने संस्कार जरिइसकेको छ । राजा वीरेन्द्र जस्ता शालीन व्यक्तित्वको वंशनाश हुनेगरी गराइएको हत्याकाण्डको होस् या मदन-आश्रितको दुर्घटनाको रहस्य, नेपाली राजनीतिको विकृृत रूपका उदाहरण मात्र हुन् । 

नेपालमा नेता भण्डारीले बहुलवादी प्रतिस्पर्धाबाट समाजवादी लक्ष्य प्राप्तिको जुन सपना देखेका थिए, त्यो त सफल हुन पाएन नै, साथै बहुदलीय व्यवस्था यो मुलुकका लागि अभिशाप सरह भएको पछिल्लो समयमा सिद्द भइसकेको छ । यहाँ राम्रो सिद्धान्त र सुन्दर राजनीतिक संस्कार टिक्दैन, गुटतन्त्र, लुटतन्त्र, भ्रष्ट आचरण, दलाल र खुराफातको जालोले मुलुक छपक्कै छोपिएको छ भन्ने कुरा राजा वीरेन्द्रको वंशनाश तथा मदन-आश्रितको मृत्युको कारण खोजी नगरिनुबाट छर्लङ्ग हुन्छ ।

सँगै यसबाट यो पनि सिद्द हुन्छ कि नेपाली राजनीति जालझेलमा चुर्लुम्म डुबिसकेको छ । क्रान्ति, कम्युनिस्ट आन्दोलन, एकता आदि जस्ता शब्दहरूको अब कुनै वजन छैन । राष्ट्र हितको कुरा गर्ने हो भने त्यस्ता तुकहीन शब्द प्रयोग गरेर जनताका आँखामा छारो हाल्दै आफ्नो दुनो सोझ्याउने परम्परालाई अविलम्ब बिसर्जन गर्नै पर्छ । दासढुंगा दुर्घटनाको र दरबार हत्याकाण्डको सत्यतथ्य उजागर गर्नका लागि निष्पक्ष छानबिन जहिले गरिन्छ, त्यसैबेला आमजनताले नेपालमा न्याय व्यवस्था, राज्य र नैतिकता जीवित रहेको महसुस गर्नेछन् र त्यसपश्चात मात्र मदन-आश्रितको आत्माले पनि शान्ति प्राप्त गर्न सक्नेछन् । शालीन राजा वीरेन्द्रको परिवारप्रति पनि अनि मात्र सच्चा श्रद्धान्जलि हुनेछ अन्यथा इतिहासले धिक्कार्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…