Khabarpato logo

         

विज्ञान/प्रविधि

हामी यति साना छौँ त ?

आकाश शर्मा

आकाश शर्मा

हामी यति साना छौँ त ?

पृथ्वीबाट लिइएको अन्दाजी ५ करोड ५० लाख प्रकाश वर्ष टाढा अवस्थित एम ८७ नामक ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होलको तस्वीर

सौर्यमण्डलका ८ वटा ग्रहहरूमध्ये मझौला आकारको सूर्यलाई परिक्रमा गर्ने आफ्नै एउटा चन्द्रमा भएको 'पृथ्वी' नामकरण गरिएको ग्रहमा निवास गर्छौं हामी । मानिसलगायत अन्य लाखौँ जीव तथा वनस्पतिको घर, यस पृथ्वीको उमेर करिब साढे ४ अर्ब वर्ष पुगेको वैज्ञानिकहरूको अनुमान छ । पानी, तरल अवस्थामा रहन सक्ने जीवनअनुकूल वातावरण रहेको यो ग्रहले आफ्नो केन्द्र सूर्यबाट पर्याप्त ताप र प्रकाश प्राप्त गर्छ । यति धेरै जैविक विविधता तथा विशाल भौगोलिक स्वरूपले सुसज्जित भए तापनि बृहस्पति जस्ता ठूला ग्रहहरूको समीपमा पृथ्वीको आकार धेरै सानो छ किनभने बृहस्पति ग्रह पृथ्वीभन्दा अन्दाजी  १३०० गुणा ठूलो छ, जसको मास ३०० भन्दा बढी पृथ्वीको मास बराबर छ ।

बृहस्पति त त्यत्रो छ भने सूर्य कत्रो होला भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । हो, हामी सबैको जीवन र अस्तित्वको स्रोत सूर्य भयंकर ठूलो छ । सौर्यमण्डलका सम्पूर्ण ग्रह, उपग्रह, क्षुद्रग्रहसमेत सम्पूर्ण पिण्डहरूको एकमुष्ठ वजन ०.१४ प्रतिशत र सूर्य एक्लैको वजन ९९.८६ प्रतिशत छ । करिब ३ लाख ३० हजारवटा पृथ्वीको मास भएको र १३ लाखवटा पृथ्वी अटाउन सक्ने उक्त सूर्यको आकार हामीले नाङ्गो आँखाले देखेर लगाएको अनुमानभन्दा धेरै ठूलो  छ । सूर्यको तुलनामा पृथ्वी एउटा हात्तीको छेउमा रहेको कमिलोझैँ  हुन जान्छ ।

सूर्य त्यत्रो विशाल छ भने त्योभन्दा ठूलो त कहीँ केही नहोला भन्ने लाग्न सक्छ । तर, सूर्य जत्रा र सूर्यभन्दा पनि सयौँ, अझ हजारौा गुणा ठूला अरू अर्बौंं ताराहरू छन्, यही हाम्रो मातृ आकाशगंगा (ग्यालेक्सी) मिल्किवे मा । अन्दाजी १ लाख प्रकाश वर्ष व्यासमा फैलिएको यो आकाशगंगामा २०० देखि ४०० अर्बसम्म तारा रहेको अनुमान वैज्ञानिकहरूले गरेका छन् । त्यति धेरै र भव्य आकारका सूर्यहरू अस्तित्वमा रहेछन् भन्ने थाहा पाउँदा कति मानिसका त निधारबाट पसिना छुटेकाे समेत देख्न पाइन्छ ।

आकारको चर्चा गर्दा प्रायः  ग्यालेक्सीको केन्द्रमा अवस्थित ब्ल्याक होलले अन्य ठूला भनाउँदा वस्तुहरूलाई धेरै पछि पारिदिन्छ । हाम्रो मिल्किवे ग्यालेक्सीको केन्द्रमा स्थित ब्ल्याक होल पृथ्वीदेखि करिब २६ हजार प्रकाश वर्षको दूरीमा रहेको छ, जसको मास अन्दाजी ४० लाखवटा सूर्यको मास बराबर हुन सक्ने अनुसन्धानबाट देखिएको छ । तथापि, यो ब्ल्याक होल मध्यम आकारको ब्ल्याक होल मात्र हो । अरू थुप्रै योभन्दा कयौँ गुणा ठूला ब्ल्याक होलहरू वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन् । करिब डेढ वर्ष अगाडि मात्र वैज्ञानिकहरूको निरन्तरको लामो प्रयासबाट ईएचटी (इभेन्ट होराइजन टेलिस्कोप)को मद्दतले ब्ल्याक होलको प्रथम तस्वीर लिने सफलता हात लाग्यो । झन्डै ५ करोड ५० लाख प्रकाश वर्ष टाढा एम ८७ नामक ग्यालेक्सीको केन्द्रमा अवस्थित उक्त भीमकाय वस्तुको आकार यति विशाल छ कि उक्त ब्ल्याक होललाई हाम्रो सौर्यमण्डलको केन्द्र सूर्यको स्थानमा स्थापित गर्ने हो भने त्यसले  पूरा  सौर्यमण्डललाई नै ढाकिदिन्छ । अर्थात् सम्पूर्ण सौर्यमण्डल जत्रो छ उक्त वस्तु, जसको मास करिब ७ अर्ब सौर्य मास बराबर रहेको वैज्ञानिकहरू बताउँछन् । वैज्ञानिकहरूले टेलिस्कोपको सहायताले हालसम्म अवलोकन गर्न सकिनेजति आकाशको अवलोकन गर्दा हाम्रो मिल्किवे जस्ता अरू अर्बौंं ग्यालेक्सीहरू र तिनको केन्द्रमा त्यस्तै अर्बौँं ब्ल्याक होलहरू रहेको कुरा पत्ता लगाएका छन् । यस्तो विशाल संरचनाको कल्पना मात्र गर्न पनि जो कोहीका लागि संभव हुँदैन किनकि त्यस्तो  विशाल वस्तुसँग तुलना गर्न मिल्ने अन्य कुनै वस्तुको हामी जस्ता सूक्ष्म जीवको जीवनमा कुनै अनुभव नै हुँदैन ।

त्यसैगरी गुरुत्व बलद्वारा एकै एकाईमा आबद्ध संरचनाहरू हुन्, ग्यालेक्सीहरू । केही हजार प्रकाश वर्षदेखि दशौँ लाख प्रकाश वर्षको व्यासमा फैलिएका खर्बौँं ग्यालेक्सीहरूको अस्तित्वको पुष्टि भइसकेको परिप्रेक्ष्यमा समग्र भौतिक जगत्को रहस्य आश्चर्यजनक रूपमा गहिरिँदै गएको छ । विशेषगरी टेलिस्कोपको आविष्कारका कारण संभव भएको यो अभूतपूर्व प्राप्तिले जिज्ञासुहरूलाई अत्यन्त उत्साहित मात्र बनाएको छैन, जीवन र जगत्सम्बन्धी  स्थापित सम्पूर्ण सिद्धान्त तथा मान्यताहरूलाई तर्कपूर्ण ढंगले किनारा लगाउँदै आमरूपमा नयाँ दृष्टिकोणसहित नयाँ एवं उपयुक्त सिद्धान्तको खोजी गरी मानव तथा पृथ्वीकेन्द्रित वर्तमान सोच र सिद्धान्तबाट माथि उठेर बाह्य जीवन र जगतसँग संपर्क एवं सम्बन्ध स्थापित गर्दै सभ्यताको उपल्लो चरणमा पदार्पण गर्ने मार्गसमेत प्रशस्त गरिदिएको छ । खर्बौँं तारा, अधिकांश ती ताराका ग्रह उपग्रह, दशौँ हजार प्रकाश वर्षमा फैलिएका ग्यासका बादलहरूलगायत न्युट्रन, तारा तथा सुपर्नोभाहरू र  केन्द्रमा डरलाग्दो ब्ल्याक होलले सुसज्जित  ग्यालेक्सी पनि आखिर अन्य खर्बौं त्यस्ता वस्तुहरूमध्ये एउटा सिङ्गो वस्तु मात्र रहेछ, जो निरन्तर आफ्नो बाटाेमा गतिमान रहेछ भन्ने तथ्य ज्ञात हुँदा हामी मानवको भौतिक अस्तित्व कति रहेछ भन्ने कुरा स्वत: छर्लङ्ग हुन्छ ।

ब्रह्माण्डको अन्वेषण जारी छ र जारी रहनेछ । ग्यालेक्सीका झुण्डहरू, अँध्यारो रित्ता ठाउँहरू तथा दीर्घकालमा अरू थुप्रै रहस्यहरू उजागर हुँदै जाने नै छन् । हबल स्पेस टेलिस्कोपले हालसालै लिएको अर्बौं प्रकाश वर्ष टाढाको एउटा तस्वीरमा २ वटा क्वेजारहरू नजिकै रहेको जस्तो देखिएका छन् । क्वेजार भनेका अत्यन्त चम्किला विशाल ग्यालेक्सीहरू हुन् ।

तसर्थ, ब्रह्माण्डको यो यथार्थलाई आत्मसात गरी आज हामीले गर्नुपर्ने भनेको आफूलाई  धेरै गतिलो र महत्त्वपूर्ण हुँ भन्ने भावना नराखी नयाँ ज्ञानको प्राप्तिलाई सहर्ष स्वीकार गर्दै पुराना जड मान्यता एवं सिद्धान्तहरूलाई आवश्यकताअनुसार परिमार्जन वा बिस्थापित गरी शान्तिपूर्ण ढंगले आफ्नो ऊर्जालाई प्रगतिपथतर्फ अग्रसर रहनमा उपयोग गर्नु नै हो । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…