बेँसीशहर-चामे सडक पुनः अवरुद्ध
पहिरोले बेँसीशहर-चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिरोले सडक पुनः अवरुद्ध भएको डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, 'यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका- ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका- ४ स्थित ३ ठाउँमा पहिरो गएको छ ।' उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ ।
सो स्थानमा ठूला-ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ । सडक अवरुद्ध भएसँगै सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गत आइतबारसमेत नासों गाउँपालिका- १ तालडाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो ।
त्यस्तै, ६ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक-पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ । सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । ६५ किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ ।