लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा
बाग्मती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ । उक्त कार्यक्रमका लागि बाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (क) र (ख) वर्ग भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिए । कुल १३ जिल्लाका ११९ वटा वडामा स्वास्थ्य बीमा गराउन लागिएको हो ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा आश्रममा आश्रितहरूको मात्र बीमा गरिएको थियो । चालू आ.व.मा बीमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्नेगरी कार्यक्रम तय गरिएको छ । स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ । सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो ।
निःशुल्क बीमामा अधिकतम ५ जनासम्मको परिवारलाई १ लाखदेखि १ लाख २५ हजार रुपैयाँसम्मको बीमा गरिन्छ । बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन् ।