राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश बुधबार जारी गरेकी हुन् ।
अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी विभाजन भएको छ । जसपाको महन्थ ठाकुर खेमाले बुधबार नै निर्वाचन आयोगमा ‘जसपा नेपाल लोकतान्त्रिक’ दल दर्ता गरेको छ ।
आजै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल खेमाले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन हाल्ने भएको छ । एमालेमा १२० जना सांसद छन् । अध्यादेशअनुसार एमाले विभाजन गर्न २४ जना सांसद भए पुग्छ । अहिलेकै अवस्थामा एमालेभित्र ५ वटा दल बन्न सक्ने सांसद संख्या छ । यसले पनि अब सिंगो र एक ढिक्का पार्टीलाई असर पुग्ने देखिन्छ ।
कुनै नेतामा अध्यक्ष बन्ने महत्त्वाकांक्षा जागेमा उसले २४ जना सांसद लिएर नयाँ दल खोल्न सक्छ । त्यसैले अब एउटै दलभित्र बहुदलको सम्भावना बढ्ने देखिन्छ । हिजोका समूह र गुटका नेता अब अमूक दलको अध्यक्ष भएर प्रकट हुने अवस्था सिर्जना भएको छ ।
एमाले केन्द्रीय कार्यसमिति अहिले २०३ सदस्यीय छ । मंगलबार मात्र एमालेले आफ्नो कार्यसमिति २६० भएको अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई जानकारी गराएको थियो । तर, पहिलेकै २०३ संख्यालाई आधार मान्ने हो भने ४१ जना केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गर्न सकिनेछ, जबकि माधवकुमार नेपालसँग ८० जना केन्द्रीय सदस्य भएको मानिन्छ ।
सत्तारुढ कांग्रेसबाट प्रतिनिधिसभामा ६३ जना सांसद छन्, जसमध्ये २ जना निलम्बनको अवस्थामा छन् । कांग्रेस विभाजन गर्न १३ जना सांसद भए पुग्छ । कसैले २४ जना सांसद लिएर अर्को पार्टी खोल्न सक्छ ।
कांग्रेसको मौजुदा केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय हो । अध्यादेशअनुसार १७ जना केन्द्रीय सदस्य लिएर कसैले नयाँ दल दर्ता गर्न सक्छ । अहिले कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, सुनिलकुमार थापा, शेरबहादुर देउवालगायतका अलगअलग समूह छन् । तीमध्ये नयाँ दल दर्ता गर्ने केन्द्रीय सदस्य जुटाउन पौडेल खेमाले मात्र सक्छ । सिटौला खेमासँग अर्को दल दर्ता गर्न सक्ने सांसद र केन्द्रीय सदस्य दुवै छैनन् ।
माओवादी केन्द्रमा सभामुखसहित ४९ जना सांसद छन् । माओवादी केन्द्रका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरिशंकर चौधरी गरी ४ जना सांसद पदमुक्त भइसकेका छन् । उनीहरू एमाले प्रवेश गरेकाले माओवादीले कारबाही गरेको हो । यदि माओवादी पार्टी विभाजन गर्नुपरेमा सांसद १० जना भए पुग्छ । तर, केन्द्रीय समिति भने माओवादीको अझै अद्यावधिक भइसकेको छैन ।
माओवादीमा पार्टी विभाजन गर्न सक्ने, अर्को गुट तयार पार्ने नेताको कमी छ । रामबहादुर थापा 'बादल', टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह बाहिरिसकेकाले अध्यक्ष प्रचण्डलाई केही ढुक्क छ । तर, पछिल्लो समय नेता नारायणकाजी श्रेष्ठ पनि असन्तुष्ट छन् ।
जसपा त विभाजन नै भइसकेको छ । जसपा विभाजन गर्न ७ जना सांसद भए पुग्छ । तर, आफूसँग १६ सांसद रहेकाले महन्थ ठाकुरले नयाँ दल दर्ता गरिसकेका छन् । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको अलगअलग गुट छ । जम्मा ७ जना सांसद मात्र चाहिने हुनाले जसपाभित्र पनि 'बहुदल'को संभावना देखिन्छ ।
न्युज कारखानाबाट